फेरि रोकियो ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम


काठमाडौं । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ ।

नियमित रुपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढिहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताए । अहिले खरिद गरिएका कार्ड पहिलो पटक ६ लाख आउन लागेका बताइएको छ ।

त्यसपछि दोस्रो पटकमा पनि ६ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । सरकारले नागरिकलाई सजिलो रुपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक नागरिकले दुःख पाइरहेका छन् ।

कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सकेका छैनन् ।