वार्षिकोत्सवका अवसरमा ‘छोरी’ले ल्यायो दुई पुस्तक


काठमाडौं । ‘छोरी’ संस्थाको वार्षिकोत्सव अवसरमा दुईवटा पुस्तक सार्वजनिक गरिएको छ । छोरी संस्थामा आबद्ध महिला तथा किशोरीहरुको रोजगारीका कथाहरु समेटिएको ‘दोहोरीदेखि बेकरीसम्म’ र ‘रिक्लेमिङ द जर्नी अफ वुमन इन इन्टरटेनमेन्ट सेक्टर फ्रम गर्ल्स एण्ड वुमन इन.ईएस’ पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा छोरी सेन्टरमा बस्ने बालिका तथा महिलाहरुको जीवनसंघर्षका कथाहरु र उनीहरुमा आएका परिवर्तनको कुराहरु समेटिएको छ । पुस्तकमा हजारौ त्यस्ता महिला तथा किशारीहरु जो संघर्षमा जीवन बिताइरहेकाहरुबारे चर्चा गरिएको छ ।

पुस्तकले मार्गदर्शन र प्रेरणाको रुपमा काम गर्ने विश्वास गरिएको छ । त्यस्तै, छोरीमा आबद्ध भएर संघर्ष गरिरहेका र जीवनलाई नयाँ तरिकाले अगाडि लानुपर्छ भन्ने सोचका साथ अगाडि बढिरहेका छोरीको सेल्टरमा बसेका किशोरीहरुले ‘तपाईंका लागि छोरी के हो ?’ भन्ने प्रश्नमा आफ्ना विचार राखेका थिए ।

मेरो लागि छोरी भगवान हो, मेरो लागि छोरी प्रेरणाको स्रोत हो, मेरो लागि छोरी आमाबाबु हो, मेरो लागि छोरी काँडाबीच फुलेको फूल हो, मेरो लागि छोरी स्वतन्त्र हुन सिकाउने स्थान हो लगायत सबैले आ आफ्नो मनमा लागेको कुराहरु व्यक्त गरेका थिए ।

मन्तव्यको क्रममा छोरीमा आबद्ध भएर आफूमा भएको परिवर्तनको विषयमा परिवर्तित नाम ‘सुष्मा’ ले आफ्नो विचार राखेकी थिइन् ।

उनले छोरीमा आबद्ध हुनभन्दा पहिला आफूलाई जीवनमा केही गर्न सक्दिन, बेकारको जीवन जस्तो अनि छोरी हुनुमा निरास भएको तर संस्थामा आबद्ध भएपछि आफूमा नेतृत्व क्षमता बढेको साथै धेरै अवसर पाएको बताइन् । उनले आफूमा आत्मविश्वास पनि जागृत भएको सुनाइन् ।

अर्की वक्ता परिवर्तित नाम ‘देवकी’ ले भनिन्, ‘छोरीका म्याडमहरुसँग पहिलो पटक ७ दिनको तालिम लिदा पनि एकशब्द नबोलिकन घर फर्कें, र दोस्रो पटकको तालिमले हिम्मत आएर आज नेतृत्व तहमा पुग्न सकेको छु ।’

 

यस्तै, परिवर्तित नाम ‘रुस्मा’ ले छोरीले मलाई पुुनर्जीवन दिएर यसरी विभिन्न जोखिममा रहेका महिला तथा किशोरी र बालिकाहरुको लागि नेतृत्व तहमा ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आचार्यले छोरी संस्थाले गरेको कार्यलाई सराहनीय भन्दै पुस्तक हेर्दा यसले अन्यलाई पनि काम गर्न हौसला प्रदान हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुखले छोरीको कार्यलाई सकारात्मक रुपमा आफूले चिनेको बताए । थोरै मात्र संस्थाले वास्तविक पीडितको हकहितको लागि मनैदेखि काम गर्ने बताउँदै उनले छोरीले यसरी यथार्थमा पीडितहरुसँग प्रत्यक्ष काम गरेको देख्दा खुसी लागेको उनले सुनाए ।

ललितपुर उपमहानगरपालिका उपमेयर मञ्जली शाक्यले छोरी संस्थाले धेरै बालिका तथा महिलाहरुको जीविकोपार्जनमा सहयोग पुर्याएको र त्यसमा अझ थप प्रेरणादायी काम गर्न शुभकामना दिइन् ।
यस वर्षको उत्कृष्ट अवार्डका लागि संस्थाको नियमअनुसार मतदान प्रक्रियाबाट कोमल पाण्डेलाई प्रमुख अतिथिको हातबाट नगदसहित ‘बेस्ट अवार्ड’ प्रदान गरिएको थियो ।