उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोपमा वडाध्यक्ष पक्राउ


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए । यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो ।

उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोप लागेको छ । यस्तै, उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।