हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन



वासुदेव पौडेल, गण्डकी । शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।

गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ ।

उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् ।

मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ”, उनले भने ।

प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए ।

दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए । दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको भन्दै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए ।

दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ ।

तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए ।

स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए । मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ ।

पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताइन् ।

दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास(होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए । त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिइन् ।

घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ ।

आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिइन् । घरवासमा आउने पर्यटकका लागि एक हजार चार सयको प्याकेज उपलब्ध छ ।

यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ । प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ ।

मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो । कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् ।

चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए ।

दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए । “दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्”, उनले भने । पृथ्वी राजमार्गको कोत्रेबाट चार÷पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका

५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया