विराटनगर । केही दिनदेखि पार्किङको समस्या झेलिरहेको विराटनगर महानगरपालिकाले पार्किङस्थललाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ । पार्किङको विषय लिएर व्यवसायी र महानगरपालिकाबीच केही दिनदेखि तनाव देखिएको थियो ।
महानगरपालिकाले सरोकारवालासहितको उपस्थितिमा भएको बैठकमा यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । यसअघि जलजलाचोकबाट ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकबाट प्रहरी नायव उपरीक्षक कार्यालयसम्म भने पार्किङस्थल निश्चित भएपछि ‘नो पार्किङ’को निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ । बैठकले यसअघि तोकिएका पार्किङस्थल व्यवस्थित गर्दै भौतिक पूर्वाधार थप गरी सिसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित तथा व्यवस्थित बनाउने निर्णय गरेको छ ।
महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया