माग पूरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने प्रभावित क्षेत्रका बासिन्दाको चेतावनी


काठमाडौं । प्रभावित क्षेत्रका बासिन्दाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी वैशाखसम्म आफना माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत यस्तो चेतावनी दिएका हुन् ।

पत्रमा भनिएको छ, ‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधै बेवास्ता गरी राज्यशक्तिको दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ । प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्ष स्थानीय निकाय समेतले वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे स्थानीय नागरिकद्वारा आगामी जेठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागी पूर्ण रूपमा रोक लगाइने ब्यहोरा अनुरोध छ ।’