सर्लाहीमा भएको दुर्घटनामा एकजनाको मृत्यु


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१त २४४० नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव परीक्षणपश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन् ।

त्यस्तै ईश्वरपुर नगरपालिका–६ राधा कृष्णा मन्दिरको प्राङ्गणमा एक बेवारिसे शव फेला परेको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२–३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएको छ ।