धानको उचित मूल्य पाउन नसकेको दाङका किसानको गुनासो



दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो ।

गत वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार दुई सयमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताए ।

“महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गए जस्तो हुन्छ”, उनले भने ।

यस्तै लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताए ।

समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनले बताए । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गरे ।

लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उनले बताए ।

गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार नौ सय ६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो ।

त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार एक सय २८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो ।

तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ ।

सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए ।

पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उनले बताए ।

कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४