भक्तपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा एक बालकको मृत्यु, एक घाइते


भक्तपुर । भक्तपुरको जगातीबाट काठमाडौँतर्फ गइरहेका तीन वटा सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा आपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

एकतर्फी रुपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नम्बरको कार, बा५५प९९२२ नम्बरको मोटरसाइकल र बा४ख५७९६नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौँ बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रहरीले दुर्घटना भएका तीन वटै सवारीसधान र बस चालक दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका–२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ र प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रके लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ ।