ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी



भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् । अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ ।

आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।

“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उनले भने, “वर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डागन फल लगाएका छन् । ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सय रुपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी एक सयमा बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पुर्याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

“मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु”, कृषक नेपालले भने”, बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।”

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन् । जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाए । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ ।

उनले भने, “२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।” आफैँले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनको भनाइ छ ।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् ।

प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ ।

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ ।

कृषक नेपालले भने, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।” गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उनको भनाइ छ ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।

यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । फलको स्वादमा गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त हुने कृषकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४

नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो