चार दशक बित्दा पनि फेरिएन बुधबारे बजार



धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४ किलोमिटर पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।

जिल्लाको सदरमुकामबाट ८० किलोमिटर दक्षिण–पूर्व र भेडेटारबाट ४४ किलोमिटर पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नम्बर १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो ।

यो बजार पूर्व–पश्चिम महेन्द्र राजमार्गको कानेपोखरी(मोरङ)बाट ३५ किलोमिटरको दूरीमा पर्छ भने भेडेटार सोही राजमार्गको इटहरी (सुनसरी)बाट ३३ किलोमिटरको दूरीमा रहेको छ । विसं २०३३ मा तत्कालीन राजा महेन्द्रले धरान धनकुटा ५२ किलोमिटर कोसी राजमार्गको शिलन्यास गरेपछि भेडेटारलाई सडक सञ्जालले छोएको थियो । उता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफू प्रधानमन्त्री भएको समयमा २०३६ सालमा लेटाङ–६ नं बुधबारे सडकको शिलन्यास गरी कच्ची सडक विस्तार गरेका थिए ।

विसं २०३८ मा कालोपत्रे भएको भेडेटार २०५२ सालको माओवादी सशस्त्र द्वन्दका कारण केही समय सुनसान भए पनि २०६४ साल पछि पर्यटकको भीड बढेर समृद्ध बन्यो । अहिले भेडेटार र आसपासका क्षेत्रमा चीसो वातावरण र प्राकृतिक दृश्यपान गर्न पूर्वी तराई र विहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल क्षेत्रका भारतीय पर्यटक र सवारीको घुइँचो लाग्ने गर्दछ तर उति नै दूरीमा रहेको उस्तै वातावरण र पर्यटकीय गन्तव्य भएको बुधबारे बजार भने दीगो सडक सञ्जाल नहुँदा लामो समयदेखि आज पनि ग्रामीण बजारकै रुपमा रहेको छ ।

विसं २०३६ मा लेटाङ–बुधबारे सडक शिलन्यास पछि सडक निर्माणमा काम गर्नुभएका सोही बजारका ५२ वर्षीय आनन्दकुमार श्रेष्ठले अहिले पनि बाटो पहिलेकै अवस्थामा भएकाले बजारको विकास हुन नसकेको बताए ।

“बर्खाले बाटो बगाएर अहिले पनि मान्छे हिँड्ने बाटो खनेर हिँड्नुपर्छ”, श्रेष्ठले भने, “कालोपत्रे नभएसम्म बाटोको अवस्था उस्तै हो ।” यस सडकको सुधार र स्तरोन्नतिका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायले सकम खर्च गरे पनि सडकको अवस्था झन बिग्रिएको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

पटक–पटक स्तरोन्नति गरे पनि सडक चुरे क्षेत्रमा रहेकाले हरेक वर्ष बर्खाको बाढीले बागाएर बाटो नै हराउने गरेकाले बजार प्रभावित हुँदै आएको उनले जानकारी दिए ।

“कालोपत्रे नगरुञ्जेल बाटोमा गाडी चल्न सक्ने अवस्था नै छैन । पहुँच नभएका हामीजस्ताको मार्का कस्ले बुझ्ने ?” श्रेष्ठले दुःखेसो गरे । बजार उत्थानका लागि बाटोलाई कालोपत्रे गर्न केन्द्रमा हरेक वर्ष दुई–तीन पटक धाए पनि सबैले हुन्छ भनेर कसैले सहयोग नगरेको श्रेष्ठले गुनासो गरे ।

जति स्तरोन्नति गर्यो त्यति बिग्रने उक्त सडक पहिला केही राम्रो हुँदा यहाँ लाग्ने साप्ताहिक बजारमा मोरङका व्यापारीले भरिभराउ हुने गरे पनि अहिले एक जना पनि आउने नगरेको सोही बजारका राजकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले उक्त स्थान भएर जाने निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्ग अवरुद्ध भइरहने भएकाले हरेक दिन जमघट हुने बुधबारे बजार थप सुनसान भएको उनले दुखेसो गरे ।

धेरै भू–भाग मोरङ जिल्लामा पर्ने भएकाले आफूहरुले कालोपत्रेका लागि मोरङका सांसदसँग पहल गरिरहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

“कालोपत्रेका लागि बजेट परेर शिलन्यास हुन लागेको जानकारी आएको छ”, लिम्बूले भने । दिगो सडक नहुँदा हाल यस बजार हुँदै धनकुटा, पाँचथर र इलामबाट मोरङ, सुनसरी र झापासम्म ठूला सवारी नचल्ने तर महँगो भाडा लिएर साना जिप मात्र जोखिम मोलेर जानेगरेका छन् । बजारबाट ३० किमि लेटाङ जान प्रतिव्यक्ति रु सात सय ५० भाडा लिने गरिएको छ ।

बाटोमा पहिरो झरिरहने जोखिमका साथै अत्यधिक सामान टुटफुट हुने गरेकाले भाडा महँगो लिनुपरेको १९ वर्षदेखि जिप चलाउँदै आउनुभएका मे१ज ७१९ का ४० वर्षीय चालक विनोद श्रेष्ठले जानकारी दिए ।

निकट भविष्यमा महेन्द्र राजर्मागको मापदण्डमा कालोपत्रे हुन लागेको भेडेटार–रवी–राँके सडक निर्माण पूरा भई लेटाङबाट बजार–बुधबारेसम्म कालोपत्रे भएमा यस क्षेत्रको दु्रत गतिमा विकास हुने देखिन्छ ।

बजारको शिरमा दार्जिलिङको टाइगरहिलभन्दा मौसम सफा रहने दुई हजार ५०० मिटर अग्लो मिक्लाजुङ डाँडा र आधा दर्जन जति प्रवद्र्धनका पर्खाइमा रहेको ताल, सिमसार र झरना रहेका छन् ।

सडक पहुँच नहुँदा महेन्द्र राजमार्गबाट ३५ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रलाई छाडेर यहाँबाट पश्चिममा रहेको भेडेटारमा करिब ७० किमिभन्दा बढीको दूरी पार गरेर पश्चिमी क्षेत्रका भारतीय पर्यटक जानेगरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३

स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।