यो पुलले हटायो दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता



दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।

विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् ।

यसअघि पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए ।

“हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौं कुर्नुपर्ने बाध्यता थियो ।” उनले भने,“सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।”

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो ।

“शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भने,–“अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।”

महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार भन्दा बढी जनसङ्ख्या छ । “महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गनुपर्ने बाध्यता हटेको छ ।”

दोधारा चाँदनीवासी आकृति कसेराले भनिन्,–“अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन,महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।” उनले यसअघि महेन्द्रनगरबाट सर–सामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताइन् ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए । “अहिले पुलबाट अस्थायी रुपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ ।” उनले भने,“पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाकी छ ।”

उनका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिमा चरणमा रहेको उनले बताए । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता