काठमाडौंमा चल्न थाले साझाका विद्युतीय बस


काठमाडौँ । साझा यातायातले तीनवटा विद्युतीय बसमार्फत सेवा सुरु गरेको छ। बिहीबार पुल्चोकस्थित साझा यातायात परिसरमा संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बस सेवाको सुरुवात गरेका हुन् ।

तीनमध्ये दुई बस नयाँ बसपार्क–बालाजु–रत्नपार्क–बानेश्वर हुँदै एयरपोर्ट रुटमा चल्नेछन्। एउटा बस लगनखेल–लैनचोर–बाँसबारी हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाले जनाएको छ। तीनवटै बसमा चालक र सहचालक महिला छन् ।

परीक्षणका रूपमा अहिले तीनवटा गाडी मात्रै सञ्चालन गरेको साझाले जनाएको छ। सरकारले विद्युतीय बस किन्नका लागि साझा यातायातमा २०७६ असारमा तीन अर्ब रुपैयाँ लगानी गरेको थियो ।

साझाले बिजुलीबाट चल्ने बस तीन चरणमा भित्राउने योजना बनाएको छ। पहिलो चरणमा साझाले चीनको सीएचटीसी कम्पनीले बनाएको ४० वटा बिजुली बस किनेको छ । थप ३७ थान बस साउन मसान्तसम्म ल्याउने साझाले जनाएको छ। दोस्रो चरणमा लामो दूरीका बिजुली बस ल्याउने साझाको योजना छ।