चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता



काठामाडौं । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ ।

फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कार्यक्रममा जानकारी दिए ।

यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत् सन् २०१५ मा संंयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको पत्ता लागेको विभागले जनाएको छ । मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्ट्याइँ दिएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो ।

मूर्ति फिर्ता गर्ने सम्बन्धमा गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकाको सहयोगमा गत जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो । प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो ।

प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १०औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो । प्रस्तरको नागराजको मूर्ति १२औँ वा १३औँ शताब्दीको हो ।

यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो ।

यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताए ।

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ । सो अवसरमा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाए । उनले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा