विश्वदर्शन दिवसका अवसरमा प्रवचन


काठमाडौं । विश्वदर्शन दिवस २०११ को अवसर पारेर त्रिचन्द्र बहुमुखी क्याम्पस, विज्डम मिसनको सहकार्यमा १९ सौं विश्व “विर्सिएका मानवतावादी दार्शनिक जय पृथ्वीवहादुर सिंह” विषयमा प्रवचन सम्पन्न भएको छ ।

प्रवचन कार्यक्रममा वक्ताको रूपमा बोल्दै त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायले सिंहको मानवतावादीधारको बारेमा परिचर्चा गर्दै उनी “विश्वको पहिलो आधुनिक मानवतावादी दार्शनिक भएको” भन्दै आजको मानव समाज बुद्धिमान हुँदै गएको तर विवेकशीलचाहिं नभएको तर्क गरे ।

उनले भने, “जवसम्म मान्छेले बुद्धिको क्रियाकलापमा विवेकको नियन्त्रण हुँदैन तवसम्म मान्छेले गरेका वैज्ञानिक विकासहरूको प्रवृत्ति बिनाशतिर बढी हुनेछ । आज कल्याणकारी विज्ञानका तुलनामा विनाशकारी विज्ञान १००० गुणा अगाडी छ । १३४१० अणुवमहरूले ९ घन्टामा सम्पूर्ण पृथ्वीको विनाश गर्न सक्छन् । यदि यी घातक वमहरू निर्माण गर्न लागेको बुद्धि र पैसा कल्याणकारी विज्ञानमा प्रयोग गरिएको भए अहिलेसम्म मान्छेको वस्ति मङ्गलमा भैसक्थ्यो । त्यसैले उप्रान्तको विकास कल्याण केन्द्रीत हुनुपर्छ भन्ने न्यूनतम सहमतिमा विश्वको राजनीति पुग्नैपर्छ ।”

कार्यक्रमको संचालन मिसन विज्डमका उदयराज ढकालले गरेका थिए भने राजु आचार्य, मन्दा पौडेल, रोशन बज्राचार्यआदिले जिज्ञासासहित आफ्ना विचार राखेका थिए भने कार्यक्रमको समापन मिसनकै लोकराज पाठकले गरेका थिए उक्त कार्यक्रम जुमप्रविधि माध्यमबाट भएको हो ।