देशको सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित



काठमाडौँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ ।

काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर सोमबार जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।

अब काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेका काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । उनले उक्त आँकडा दुई वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर सङ्ख्या घट्दो भएको बताए ।

काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए । चालु आर्थिक वर्षमा भने साक्षर घोषणा हुने काठमाडौँ पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।

साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो ।

प्रमुख पौडेलका अनुसार काठमाडौँको शङ्खरापुरमा ९६ दशमलव ०५, कागेश्वरी मनहरामा ९६ दशमलव ९७, गोकर्णेश्वरमा ९५ दशमलव ०४, बूढानीलकण्ठमा ९८ दशमलव ६९, टोखामा ९८ दशमलव ५४, तारकेश्वरमा ९८ दशमलव ०८, नागार्जुनमा ९७ दशमलव ०८, चन्द्रागिरिमा ९६ दशमलव ४७ र दक्षिणकालीमा ९५ प्रतिशत नागरिक साक्षर भएको यसअघि विभिन्न मितिमा घोषणा भइसकेको छ ।

साक्षर काठमाडौँ घोषणा गर्दै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले तीनै तहका सरकारले साक्षर नेपालको अभियानलाई निरन्तरता दिँदै सीप र रोजगारीमा शिक्षालाई जोड्न सक्नुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले साक्षर जिल्ला घोषणालाई दिगोरूपमा कायम राख्न सक्नु सबैको दायित्व भएको बताए ।

मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार साक्षर घोषणा हुन बाँकी जिल्लाका लागि सघनरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।

सरकारले सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी ‘साक्षर नेपाल’ अभियान घोषणा गरी वर्ष २०७६ मै साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो ।

हाल मुलुकमा युवा साक्षरता (१५ देखि २४ वर्ष उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० वर्ष उमेर समूह) ८२ प्रतिशत छ । अभियानअन्तर्गत स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण एकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन हुँदै आएको छ ।

साक्षर नेपालको अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने जनाएको छ ।

अवधारणापत्रले साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नुपर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदानभक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार एकैदिन ८३ जना शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ। शुक्रबार नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारणसभामा संस्थामा आबद्ध जिल्लाका विभिन्न विद्यालयमा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको हो। साधारणसभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे। कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए। उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस्।” अब भक्तपुरका जनताले सस्तो र सहज रूपमा सिटिस्क्यान सेवा पाउने उल्लेख गर्दै उनले प्रदेश सरकारले १९ करोडको लागतमा सिटीस्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान गर्न बोलपत्र आह्वान गरिसकेको बताए। भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन राख्न ठाउँ अभाव भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले एक सय वर्ष अगाडिदेखि भोगचलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाएको बताए। भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उनले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले भक्तपुर नगरपलिकाद्वारा सञ्चालिन ख्वपः अस्पतालाई पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटिस्क्यान मेसिन राख्न बजेटको व्यवस्था गरेको बताए। कार्यक्रममा एन प्याब्सन केन्द्रीय समितिका सहकोषाध्यक्ष विक्रम धुकुछु, केन्द्रीय पदाधिकारी जिबी खड्कालगायतले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मानले प्रेरणा प्रदान गर्ने बताए। नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए। उनले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए।

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय

हेलो रोबोट! तिम्रो नाम के हो ?

मधु शाही, काठमाडौं । हेलो रोबोट! तिम्रो नाम के हो? न्युटन स्कुलका रिपेक्स

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन्