छोरीले सेवा दिएका किशोरीहरुकै नेतृत्व चयनका साथ छोरीको आठौं साधरण सभा सम्पन्न
काठमाडौं । ६ वर्षअघि छोरीको आवास गृहको सेवा लिन आइपुगेकी २२ वर्षकी मिठु वाइबा आज छोरीसंस्थाको अध्यक्ष बन्न सफल भएकी छन् ।
छोरी संस्थाकै आवास गृहमा बसी एसएलसी पास गरेपछि एक शिक्षिकाको पेशा गर्दै आफ्नो पढाइलाई निरन्तरता दिंदै आज उनी बिएसडब्ल्युको तेस्रो वर्षमा पुगिसकेकी छिन् । आफूले भोगेको जस्तो हिंसा र दुव्र्यवहारको शिकार आउँदा पिँढीले भोग्नु नपरोस् भनेर नै उनको छोरी संस्थामै आवद्ध भएर सामाजिक सेवा गर्ने अठोटले गर्दा विगत ४ वर्षदेखि छोरी संस्थाको कार्यसमितिमा विभिन्न पदमा रहेर काम गरिन् ।
हिजोको दिनहरुमा छोरी भएर जन्मेकै कारणले आफ्नो जीवनको अन्त्य गर्ने अवस्थामा पुगेकी मिठु आज आफू छोरी हुनुमा गर्व गर्दै परिवारबाट अपहेलित,दुव्र्यवहार र विभेदको सामान गरिरहेका किशोरीहरुको लागि उदाहरणीय पात्र बन्दै आफूले पाएको जिम्मेवारीे पुरा गर्न र प्रतिवद्ध छिन् ।
साउन ३० गते छोरीको केन्द्रिय कार्यलयमा बागडोल, ललितपुरमा छोरीको आठौं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्य समितिको पदाधिकारीमा छोरीबाट विभिन्न सेवा लिएर शसक्त हुदै आएका ५ जना किशोरीहरु र छोरीमा लामो समयदेखि आवद्ध रहेका २ जना सदस्य गरी जम्मा ७ जना रहेका छन् । पदाधिकारीहरुमा अध्यक्ष मिठु वाईवा,उपाध्ययक्ष शिल्पा तिरुवा, सचिव कल्पना तिमल्सिना, कोषाध्यक्ष सचिना श्रेष्ठ र सदस्यहरु सरिता गिरी,अमिसा राई र अस्मिता दर्नाल छन् ।
छोरी सन् २०१३ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई महिला तथा किशोरीहरुको संरक्षण, सशक्तिकरणका साथै मानव बेचविखन विरुद्धको विभिन्न रोकथाम, संरक्षण,पैरवी कार्यक्रमहरु संचालन गर्दै आइरहेको गैरसरकारी संस्था हो । छोरी भएकै कारण विभिन्न हिंसामा पर्नुपर्ने विद्यमान समस्यालाई न्यूनीकरण गरी आगामी दिनहरुमा छोरीहरुले हिंसा रहित वातावरणमा बाँच्न पाउने समाजको निर्माण होस् भन्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । छोरी काठमाडौं,भक्तपुर,ललितपुर,र नुवाकोटमा कार्यरत छ ।
छोरीले विशेष गरि आवास सेवा सहयोग, सिपमुलक तालिम, शैक्षिक सहयोग, कानुनी सहयोग, मनोसामाजिक मनोविमर्श, सशक्तिकरण तालिम, किशोरी रुपान्तरण तालिम,जनचेतनामूलक कार्यक्रम, आयआर्जन जस्ता कार्यक्रम सञ्चालन गरिररहेको छ भने कोभिडको समयमा महिला तथा किशोरीहरुलाई राहत वितरणलाई पनि निरन्तरता दिइ रहेको छ ।