चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि


चितवन । चितवन जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आर्थिक वर्षमा २६१ सवारी दुर्घटना भएका थिए । गत आर्थिक वर्षमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ ।

गत आर्थिक वर्षमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा १०७ जनाको मृत्यु भएको थियो ।

गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन् ।

कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना बढेको थापाले बताउनुभयो । दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ । उनीहरुबाट कारवाहीस्वरुप दुई लाख ४४ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ । उनीहरुबाट पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस्तै कार्यालयले गत आर्थिक वर्षमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ ।