सिद्धार्थ वनस्थली ईन्ष्टिच्युटको २०४७ को व्याच सामाजिक कार्यमा अग्रसर


काठमाडौं । सिद्धार्थ वनस्थली ईन्ष्टिच्युटको २०४७ को एसएलसी व्याच सामाजिक कार्यमा अग्रसर देखिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सो व्याचका पाँच सय भन्दा बढी विद्यार्थीमध्ये हाल देश विदेशमा रहेका करिब १५० जना विद्यार्थीहरु सामाजिक संजालमार्फत भाइबर गु्रपमा आबद्ध भई कोरोना महामारी नियन्त्रणमा लागि अस्पतालहरुलाई स्वास्थ्य सामग्री वितरणदेखि असहायलाई सहयोग गर्ने काममा जुटेका हुन् ।

त्यसैक्रममा उनीहरुको समूहले रकम संकलन गरी कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतलाई १० थान अक्सिजन फ्लोमिटर, १५०० थान सर्जिकल मास्क, १५०० थान सर्जिकल ग्लोब्स, १०० थान सेनिटाईजर अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्कालाई हस्तान्तरण गरेको छ । यसका साथै समूहले सोही अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितका साथै आईसोलेशन केन्द्रमा बसेका विरामीका कुरुवालाई बुधदेखि नियमित भोजन खुवाउने कार्यको पनि सुरु गरेको छ ।

यो अभियानअन्तर्गत एक महिनासम्म विरामीका कुरुवालाई दैनिक विहान खाना खुवाउने कार्यतालिका रहेको छ । साथै, कोरोना संक्रमितका कुरुवालाई सेनिटाईजर, मास्क,र ग्लोब्स समेत वितरण गरिएको छ । यस सामाजिक कार्यको सहजीकरण सिद्धार्थ बनस्थली २०४७ व्याचका विद्यार्थीद्वय श्री नयाँ सबुज गण सुर्खेतका प्रमुख सेनानी केशवराज रायमाझी र नेपाली सेनाका पश्चिम एयरवेशमा कार्यरत पाइलट महासेनानी किरण थापाले गरेका छन् ।

सामाजिक कार्यलाई निरन्तरता दिदैं बुधबार सो समूहले एक समारोहका वीच International Buddhist Society लुम्बिनीलाई Owgels Oxyqen Conten Concentrator  १ थान र आनन्दकुटी आईशोलेसन केन्द्र, स्वयम्भुलाई मास्क, पञ्जा, औषधि तथा अन्य सर्जिकल सामानहरु हस्तान्तरण गरेको छ । यस कार्यक्रमको सहजीकरण डा. रोशन पियाले गरेका थिए । यो समूहले सामाजिक कार्यत्रलमलाई देशैभर निरन्तरता दिने सोच रहेको जनाएको छ ।