चितवनमा मागअनुसार अण्डा पुर्याउन मुस्किल



चितवन । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउँछन् । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।

उनले भने, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पुर्याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् ।

उनले भने, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकिन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।

वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका अधिकारीले जानकारी दिए । उनले भने, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”

कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ ।

निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् । उनले भने, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउँछन् । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उनको भनाइ छ ।

माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० वटा) ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ ।

देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० रुपैयाँ हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन् । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए ।

नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खानेपानी अभावमा काकाकुल छन् सर्लाहीका ९ सय बढी घर परिवार

बरहथवा । सर्लाहीको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन्

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको

साइकल चलाउन थालेपछि फेरियो जीवन

रुपनी जिएम, जानकी (बाँके), २ माघ । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)