विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा जेलमुक्त


काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लब समूहका नेता तथा जनवादी गायक माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेता लामा झन्डै दुई वर्षपछि बिहीबार लामा थुनामुक्त भएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज समेत रहेका लामालाई सरकारले २०७६ साल साउनमा काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने बम विस्फोटको मुद्दा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो । नख्खुबाट रिहा भएलगत्तै उनलाई अर्को मुद्दामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्दा लगाई संखुवासभा लगिएको थियो ।

सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर कारागार मुक्त भएका हुन् । लामालाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै संखुवासभा पुर्याएको थियो ।

लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार÷सङ्गीतकार पनि हुन् ।