चितवनमा बस र स्कुटर आपसमा ठोक्किँदा तीन जनाको मृत्यु


चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।