हेक्राङका चेपाङ महिलालाई परिवार योजनामा जागरूकता



धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका १० हेकराङका चेपाङ बस्तीमा के कति समस्या छ भन्ने थाहा पाउन स्थानीयको गुनासो सुनिरहनै पर्दैन । सरकारी निकाय र संघसंस्थाका पदाधिकारीहरु बेलाबेला आएर समस्या सुन्ने तर समाधान नगरेको कतिपय स्थानीयको भनाई छ । उनीहरुले लगाएका लुगा र शारीरिक आवरण हेरे मात्रै थाहा हुन्छ की के कति समस्या छ भनेर । चेतनाको अभावमा उनीहरु फोहोरी भएर बसेका छन् जस्तो पनि लाग्ला तर, समस्या सोचेभन्दा बेग्लै पनि हुन सक्छ ।

यस्तैमा, समस्यामा परेका रोराङ गाउँपालिका १० हेकराङका मालिका आधारभुत विद्यालयमा अध्ययनरत ५७ जना विद्यार्थीहरुलाई वार्मिङ हार्टस् नेपाल र हर्टबिट नेपाल संस्थाको संयुक्त पहलमा खानाको व्यवस्था गरिएको छ । शुक्रबार पनि उनीहरुले विद्याथीहरुलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामुलक शिक्षाका बारेमा जानकारी दिर्दै खाना खुवाएका थिए । विगत १ दशक देखि चेपाङ विद्यार्थीहरूलाई सहयोग गर्दै आएका हर्टविटका संस्थापक जुजुकाजि महर्जनले उक्त विद्यालयमा आफुले दुई वर्ष देखि नै सहयो गर्दै आएको बताए । त्यस्तै, समाजसेवी एवम् वार्मिङ हार्टस् नेपालकी अनमिका अर्याले ६ महिना देखि आफुले विद्यार्थीहरुलाई खानाको व्यवस्थापन गरेको बताईन् । साथै हर्टविट संग सहकार्य गरेर उक्त विद्यालयमा हालसम्म शैक्षिक सामाग्री,कपडा, किचेनका लागि आवश्यक सम्पुर्ण सामाग्री सहयोग गर्नुका साथै आगामी दिनमा पनि खाना खुवाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गरिन् । त्यतीमात्र नभएर आगामी दिनमा परिवार योजनाका कार्यक्रमहरुलाई पनि अगाडी बढाउने उनको भनाई छ ।

भनिन्छ,विश्व परिवेशबाट हुँदै आएको परिवर्तन एकातिर छ भने अर्कोतिर समाजमा शदीयौदेखि जरा गाडेको रुढिवादलाई चिर्न निकै गाह्रो छ। यो चुनौती चिर्न सूचना, सशक्तीकरण एवं निर्णय क्षमताको विकास गराउन सक्नुपर्दछ। मानव अधिकार एउटा छाता अधिकार हो र यसभित्र विभिन्न अधिकार रहेका हुन्छन्। परिवार योजना अर्थात् बढी प्रचलनको भाषामा परिवार नियोजनले मानव जीवन, भविष्य र स्वास्थ्यको रक्षा गर्छ। परिवारप्रति वास्तविक अर्थमा जिम्मेवार बनाउँछ र गुणस्तरीय मानव जीवनको खोजी गर्दछ। उचित तरिकाको परिवार योजनाले जनसंख्या नियन्त्रणमा पनि सहयोग गर्छ।

यसैबिच, शुक्रबार वार्मिङ हार्टस् नेपालकी नर्सिङ प्रतिनिधि सं्गीना सिम्खडाले चेपाङ महिला दिदीबहिनिहरुलाई परिवार योजना, प्रजनन स्वास्थ्य तथा परिवार नियोजनका अस्थायी तथा स्थायी साधनका बारेमा शिक्षा दिनुभयो । उनले परिवार योजनाको छनोटको अधिकार गर्न दम्पती सक्षम छन् कि छैनन्, छनोटका वाधकतत्वहरू केके हुन् पत्ता लगाउन आवश्यक रहेको बताउँदै सामाजिक संस्कृति, परम्परा र सामाजिक सद्भाव नखल्बल्याई बच्चा जन्माउने मात्र नभएर बच्चा हुर्काउने, पढाउने र असल व्यक्ति निर्माण गर्नुपर्ने हुँदा यसै चरणमा सम्पूर्ण कुराको निर्णय सोचविचार गरेर हुन सक्नु महत्वपूर्ण हुने बताईन् । साथै, राज्यले खुसी परिवार निर्माणका लागि परिवार योजनामा आवश्यक बजेट विनियोजन गर्न सके यसले आशा गरेअनुसार प्रतिफल दिने पनि बताईन् ।

धादिङको गजुरी, बेनिघाट रोराङ, थाँक्रे, सिद्धलेक गाउँपालिका र धुनीबेसी नगरपालिकामा चेपाङ समुदायको बसोबास छ । नेपालमा चेपाङको जनसंख्या लगभग एक लाखको हाराहारीमा छ। शिक्षा, स्वास्थ्य एवं गाँस, बास र कपासको मामिलामा अझै पनि पूर्णरूपमा राज्यले पहुँचमा ल्याउन सकेको छैन। अधिकांश चेपाङ समुदाय अझै पनि महाभारत पर्वत शृंखलाको भिरालो पाखापखेरामा बसोबास गरिरहेका छन्। अझै ७० प्रतिशतभन्दा बढी चेपाङ समुदायको आफ्नो जग्गाधनी पुर्जा छैन। वृद्धभत्ता खाने उमेरका १३ प्रतिशत वृद्धवृद्धाको नागरिकता समेत छैन।

यो सुमदायको ७० प्रतिशतभन्दा ज्यादालाई आफ्नो पाखो पखेरोमा उब्जिएको अन्नले ६ महिनाभन्दा बढी खान पुग्दैन। यस्तो अवस्थामा घरमा खाने अन्न नभएका बखत खाली पेट, खाली खुट्टा सात÷आठ वर्षका बालबालिकाले कसरी उकालो–ओरालो धाएर विद्यालय जाने त । त्यसैले डाँडाकाँडाको सरकारी विद्यालयमा सरकारले गरेको लगानी अधिकांशजस्तो बालुवामा पानी हालेसिवाय अरू भएजस्तो लाग्दैन। सरकारले चेपाङ बालबालिकालाई शिक्षा दिएर सबल नागरिक बनाउन चाहेको हो भने आवासीय सेवासुविधासहितको शिक्षा दिनुको विकल्प छैन। चेपाङहरुमा प्रचलित किम्वदन्तिअनुसार आफूहरुलाई सीताका छोरा लवकुशमध्ये लवका सन्तान लोहरीका सन्तान भनेर भन्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

सुरु भयो पदयात्राको याम

गण्डकी । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४०

मुस्ताङको चराङ दरबार संरक्षणको पर्खाइमा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको ऐतिहासिक महत्वको चराङ दरबार । ढुङ्गा र