लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा आयोजनामा कार्यरत तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ ५ः१५ बजे उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार तीन जना घाइते भएका छन् । घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेका र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।