आज पुस पन्ध्र:पर्वैपर्वको दिन,ल्होसार,धान्यपूर्णिमा,यो:मरी पुन्ही र उधौली


काठमाडौं । आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् ।

आज धान्यपूर्णिमा, योमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आआफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदैछ ।आज गुरुङ समुदाय तमु ल्होसार मनाउँदैछन् भने किराती समुदाय उधौली र चासोक तङनाम। नेवारी समुदाय भने योमरि पुन्हि मनाउन जुटेका छन्।

कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

‘तमु ल्होसार’
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

धान्य एवं योमरी पूर्णिमा
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउँछन् ।

योमरी पूर्णिमा
नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

उधौली पर्व
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।

तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।