गाँजा खान नपाएपछि साथीको हत्या
झापा । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका छन् ।
बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक र अभियुक्त दुवै लागुऔषध दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ ।
मृतक अभिषेकले रविनलाई १०० रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर निस्काएको अनुसन्धानबाट खुलेको छ ।
सोही घटनापछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए ।
अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९ः४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।