बरिष्ठ नेफ्रोलोजिष्ट डा. हाडा सुप्रबल जनसेवा श्री तेस्रो पदकबाट विभूषित
काठमाडौं । बरिष्ठ नेफ्रोलोजिष्ट डा. रजनी हाडा चिकित्सा पेशामा उत्कृष्ठ कार्य गरेबापत अतिसम्मानित बिभूषण (सुप्रबल जनसेवा श्री तेस्रो पदक)बाट विभूषित भएकी छन् ।
डा. हाडाको योगदानको कदर गर्दै सरकारले यसवर्षको संविधान दिवसको अवसरमा उनलाई पदक प्रदान गरेको हो । डा. हाडासँगै ७७ जना स्वास्थ्यकर्मीले पदक पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदकबाट विभूषित गरेकी थिइन् ।
‘कर्म गरौं, फलको आशा नगरौ’ भन्ने यर्थातलाई मान्यता राख्ने काठमडौंको मध्यबानेश्वर निवासी डा. हाडा विगत करिब तीन दशकदेखि एक सफल चिकित्सकको रुपमा कार्यरत छिन् । करिव तीन दशक अगाडि प्रसृति गृहबाट आफ्नो चिकित्सकीय पेशा शुरुवात गरी दुई दशकदेखि वीर अस्पतालमा आबद्ध भई स्वास्थ्य सेवा प्रदान गरिरहेकी छन् ।
त्यसैगरी डा. हाडा थप स्वास्थ्य सेवा प्रदान गर्न आंशिक रुपमा त्रिपुरेश्वरस्थित ५० शैयाको जनरल अस्पताल ब्लू क्रस अस्पतालमासमेत डाईलासिस् विभागको प्रमुख नेफ्रोलोजिष्टको रुपमा आबद्ध रहेकी छिन् ।
उनको विशेषज्ञताले हजारौं किड्नीको समस्या भएका बिरामीहरुले समयमा सही उपचार प्राप्त गरी आफ्नो रोगबाट निदान समेत प्राप्त गरी सामान्य जीवन बिताइरहेका छन् । जसको श्रेय डा. हाडालाई नै जानेमा कुनै दुई मत नहोला ।
उनले स्वास्थ्य सेवामा प्रदान गरेको योगदानको लागि कदर गदैं अतिसम्मानित पदक प्रदान गरेकोमा ब्लू क्रस अस्पतालले उनलाई बधाई दिएको छ । अस्पतालले सरकारको यस निर्णयबाट आफूले फलको आशा नगरे पनि सही मूल्याङ्कन भई अरुबाट अवश्य नै फलको प्राप्ति हुनेछ भन्ने प्रमाणित भएको उल्लेख गरेको छ ।
सरकारबाट भएको यस निर्णयले हालको कोभिड–१९ को महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरुले आफ्नो उद्देश्य प्राप्तिको लागि जसरी चुनौतीपूर्ण ढंगको सामना गर्नुपरेको छ त्यस्तो अवस्थालाई सहज रुपमा पार गर्न अझै हौसला प्रदान गर्ने तथा सम्पूर्ण स्वास्थ्यकमीहरुको मनोबल अझै उच्चस्तरमा समेत रहने समेत अस्पतालले अपेक्षा गरेको छ ।