दुई करोड ५० लाख रुपैयाँको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर तीनमा पर्यावरण पार्कको शिलान्यास गरिएको छ । बाँसबारी महापुर पाखामा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडाध्यक्ष दीपक केसीले संयुक्त रुपमा पार्कको शिलान्यास गरेका हुन् ।

२०५५ सालमा गुरुयोजना बनाएर पार्क निर्माण गर्ने लक्ष्य भएपनि श्रोतको नभएर योजना कार्यान्वयन हुन सकेको थिएन । बहुबर्षिक योजनामा राखेर चालु आर्थिक बर्षका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ छुट्याएपछि काम अघि बढेको हो ।

शिलान्यास कार्यक्रममा मेयर शाक्यले बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य गर्दै गएको बताए । उनले भने,‘अहिले जनप्रतिनिधिको परीक्षा चलिरहेको छ । यसको मुल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको हो । तपाईंहरु (महानगरवासी) ले १ सयमा ८०, ९०, ६०, ३०, २० जति दिने हो दिनुहोस्, त्यो तपाईंहरुको जिम्मामा छ,’ उहाँले भन्नुभयो, ‘हामी सकेसम्म महानगरवासीका सपना पूरा गर्ने गरी लागेका छौँ ।’
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकोले थिति बसाउनमै समय लाग्यो । १८ बर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो थिएन । हामी मिलेर काम गर्दैछौं । तपाईँसँग भएका समस्या लिएर वडामार्फत आउनोस् । हामी कार्यान्वयन गर्छौ ।’

यो पार्क निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३, बुढानिलकण्ठ नगरपालिका वडा – ७ र टोखा नगरपालिकाको वडा – ४ को सीमानामा छ । यहाँ पार्क बनाउने करीब २ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएको छ । पहिलो चरणको काम २०७७ मंसिर मसान्तसम्ममा र बाँकी काम बाँकी अवधिमा सम्पन्न गरिनेछ ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । ‘डोल परेको र भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ,’ डिजाइन टिमकी इञ्जिनियर नीलिमा थापा श्रेष्ठले भनिन्, ‘पहिलो पटक म त्यहाँ पुग्दा चराहरुको चिरविर आवाज, रुख विरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इको पार्क राखेका हौँ ।’

पार्कलाई हरियाली बनाइ राख्न रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारिएको छ । पार्कमा किरियापुत्री भवन पनि बन्नेछ । जीवनमा सबै भन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकोले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको हो । पीडालाई स्वतन्त्र छाडेर उन्मुक्त हुने पार्कलाई एकै ठाउँ डिजाइन गर्ने कुरा थप चुनौतीपूर्ण थियो । डिजाइनर थापा श्रेष्ठले योजना बनाउँदाको अनुभव सुनाइन् ।

अहिले वन जस्तो देखिने त्यस ठाउँमा काउलो र उत्तिसका रुख, निगालो र बाँसको झाङ छ ।