बर्षा कम हुँदै जाने भएकाले नदीहरुको जलस्तर घट्दै : विभाग
काठमाडौं । बुधबारबाट देशभरका नदीहरुको जलस्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको मौसमी अवस्थाका बारेमा जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बिभागका महानिर्देशक सरजु कुमार वैद्यले बुधबारबाट क्रमशः बर्षा कम हुँदै जाने भएकाले नदीहरुको जलस्तर घट्दै गएको जानकारी दिएका छन् ।
कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा हुने र सतर्कता तलै हुने उनले बताए । त्यस्तै कोशी, नारायणी र यसका सहायक नदीमा बहाव घट्दो हुने तर सतर्कता भन्दा केही मात्र तल हुने अनुमान विभागले गरेको छ ।
कन्काई, कमला, बागमतीमा बहाव सामान्य घटबढ हुने, पश्चिम राप्ती, बबई, लगायतमा घट्दो हुने तथा सबैमा बहाव सतर्कता तलै हुने पूर्वानुमान गरिएको छ । उनले नेपालको आकाशमा बादलहरु घट्दो अवस्थामा रहेको जानकारी दिए ।
मनसुनी न्युनचापिए रेखा नेपालको पश्चिमी भूभागबाट दक्षिणी भेगमा सरेको उनले बताए । उनले मनसुन कायमै रहेकाले बर्षा हुने तयार यसअघिको जस्तो नहुने जानकारी पनि दिए । मनसुन सुरु भएयता मुलुकभर बाढी र पहिरोका कारण १२४ जनाको मृत्यु भइसकेको छ भने ५२ जना बेपत्ता भएका छन् । त्यस्तै ९८ जना घाइते भएका छन् ।