कास्कीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले स्थानीय प्रेमराज विकको घर पुर्दा १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएका प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल छन् । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको प्रहरीले जनाएको छ ।