काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ
काठमाडौं । काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । महानरपालिकाले जेठ ३ गते इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । ९३४ मध्ये ६६४ जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट परीक्षण भएको थियो ।
आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएका ६६४ जनामध्ये ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको थियो । परीक्षणबाट एन्टिबडी पोजेटिभ देखिएका सबैको (थ्रोट स्वाब) पिसिआर परीक्षण गरेर थप परीक्षण गरिएको थियो ।
वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार शनिबार बेलुका आएको पिसिआरको रिजल्ट नेगेटिभ देखिएको हो । साँझमा नतिजा आएपछि घर जान सक्नेलाई जान दिइएको र घर जान सम्भव नहुने आज बिभागकै क्वारेन्टाइनमा बस्ने बिभागीय प्रमुख श्रेष्ठले जानकारी दिए ।
परीक्षण गर्दा सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुलाई जोखिममा राखेर पिसिआर बिधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडिटी परीक्षण गरिएको थियो । त्यसपछि उनीहरुलाई बिभागमै राखिएको थियो । वातावरण व्यवस्थापन बिभागमातहतका ९४५ जना कर्मचारीमध्ये ७३० कुचीकार छन् ।