काठमाडौं । सरकारले चाहेमा आफ्नो घर क्वारेन्टाइनको रुपमा निःशुल्क प्रयोग गर्ने दिने घोषणा गरेका काठमाडौंको कपनका एक जना स्वास्थ्यकर्मीले कोरानाबाट जोगिन सुरक्षाकर्मी, सर्वसाधारण लगायतलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
कपन बालुवाखानीका स्वास्थ्यकर्मी विष्णु न्यौपानेले मास्क, क्याल्सियम, सेनिटाइजर, ग्लोव्सलगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् । उनले काठमाडौं, नुवाकोट, धादिङ र रसुवाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्नुका साथै कोरोनाबाट जोगिने उपायका बारेमा जनचेतना जगाउँदै हिंडेका हुन् । उनले दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको बताएका छन् ।
उनले कोरोना महामारी नियन्त्रणका लागि आफूले यो अभियानलाई जारी राख्नेसमेत बताएका छन् । आफू स्वास्थ्यकर्मीसमेत भएकाले सामाजिक सेवाको भावनाले यस्तो काम गरेको उनले बताएका छन् । उनले सरकारको मात्र मुख ताकेर नहुने भन्दै सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
न्यौपानेले कपन बालुवाखानीमा अष्ट्रिज फर्मा तथा हेल्थ केयर सेन्टर संचालन गर्दै आएका छन् । महामारीका बोला पनि सेन्टरबाटै २४ सै घण्टा सेवा दिइरहेको उनले बताएका छन् । रसुवाको नौकुण्ड बडहरेका झवराज न्यौपानेका छोरा न्यौपानेले कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै आफ्नो घर निःशुल्क रुपमा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया