परीक्षार्थीसँग दुई हजार रुपैयाँ घुस लिने शिक्षक पक्राउ
जनकपुर । धनुषाबाट एसईईका परीक्षार्थीसँग दुई हजार रुपैयाँ घुस लिने एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका–२, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई आयोगको टोलीले बुधबार पक्राउ गरेको हो । परीक्षाको सबै तयारी पूरा भइसकेकोबेला निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाइरहेका थिए ।
सोही क्रममा एक विद्यार्थीले आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी गरी प्रअलाई मागे अनुसारको रकम दिएपछि टोलीले महतोलाई पक्राउ गरेको हो । घुसमा लिएको रकमसहित पक्राउ परेका प्रअ महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।