पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु
बनेपा । काभ्रेको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
–––