के यो हत्या रोक्न सकिन्थ्यो भन्ने तिमीलाई लाग्दैन ?



नारायण गाउँले

यो त्रासद तस्बीर मेरै गाउँ कावासोतीको रहेछ । हिजो ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा यसमा सवार पाँचै जना यात्रुको मृत्यु भएको खबर पढेर स्तब्ध छु ।

यो गाड़ी ह्युन्डाईको Grand i10 मोडल हो र यसको नेपालमा बजारमूल्य २५ लाख रुपियाँ अर्थात् १८ हजार ब्रिटिश पाउण्ड रहेछ । बेलायतमा यसको मूल्य नेपालभन्दा ठ्याक्क आधा अर्थात् करिब ९ हजार पाउण्ड पर्छ । विश्वकै समृद्ध देशका धनी उपभोक्ताले ९ रुपियाँमा किन्न पाउने एउटा वस्तु निर्धन देशका गरिब उपभोक्ताले १८ रुपियाँ तिर्न पर्नु आफैमा एउटा मजाक हो 

कुरो यत्तिमैं सकिन्न । दोब्बर मूल्य तिरेपछि क्वालिटी र सेफ्टी पनि राम्रो या कम्तिमा बराबर हुनुपर्ने हो । तर दुर्भाग्य, बेलायतमा ९ लाख तिर्नेले जुन गुणस्तर र सेफ्टी फ़ीचर पाउँछ, डबल पैसा तिरेर त्यसको आधा पनि नेपाली उपभोक्ताले पाउँदैन ।

यो चरम लूट र राष्ट्रिय लज्जामात्रै होइन, मानवीय अपराध पनि हो । हाम्रा शासकको नालायकी पन र अदूरदर्शिताको परिणाम आज नागरिकले भोगिरहेछन् । गाडीको डबल मूल्य तिरेर टिनको बाकस किनेजस्तो लाग्छ ।

हामी गरिब छौं, हाम्रा सड़क विश्वकै असुरक्षित सड़कमध्ये पर्दछन् । एकमात्र राष्ट्रिय राजमार्गमा समेत राम्ररी लेन छुट्टिएको छैन । नदी किनारका सड़कमा पर्खालहरू छैनन् । स्पिड नियन्त्रणका स्थायी संयन्त्र छैनन् । राजमार्गमा समेत दायाँबायाँ पैदल यात्रीहरू हुन्छन् ।

यस्तोमा दुई रुपियाँ बरु महँगो परोस्, तर संसारकै सबैभन्दा सुरक्षित कारमात्रै देशमा आयात गर्न पाउनुपर्ने हो । ‘क्रयाश टेस्ट’मा उच्चतम अङ्क प्राप्त नगरेका कारहरू प्रतिबन्धित हुनुपर्ने हो ।

ड्राइभरमात्र होइन, प्यासेन्जरदेखि पैदलयात्रीको सुरक्षासम्मका कुरा चेक गरेर तिनले सुरक्षा नम्बर पाउँछन् । तर अवस्था के छ भने दुई रुपियाँ या दुई हजार बढ़ी मात्रै होइन, लाखौं बढ़ी तिरेर समेत हामी सबैभन्दा असुरक्षित र प्रदूषणकारी गाड़ी किनिरहेछौं ।

यो दुर्घटना यूरोपमा यही गाड़ीमा भएको भए पनि शायदै पाँच जनाको मृत्यु हुँदो हो । ह्युन्डाइले यूरोपमा बेच्ने यही मोडलको सेफ्टी फिचर निकै उच्च र प्रदूषणको तह निकै कम छ । तर नेपाल, भारत र साउथ अमेरिकन देशमा बेचिने यही मोडलको सेफ्टी लेवल ज्यादै न्यून रहेछ ।

बेलायतमा ९ हजारमा बिक्ने गाड़ीले पनि भन्सार तिरेकै हुन्छ, सड़क दस्तुरदेखि अन्य कर तिरेरै आएको हुन्छ । कामदारले पाउने लाखौंको तलब र महँगो शोरूमको खर्च पनि जोड़िएकै हुन्छ ।

नाफा पनि पाउण्डमैं जोडिन्छ । ग्यारेन्टी पनि दिनै पर्यो । यो सबै गरेर ९ हजारमा बेच्न मिल्छ भने हामीले त अझ सस्तोमा बेच्न मिल्नुपर्ने हो । तर सरकारले गाड़ीको मूल्यभन्दा बढ़ी त कर नै लिने रहेछ । नाफा पनि आफूखुशी राखे भयो । उपभोक्ताबारे देशमा कसले सोच्छ र ?

ए सरकार, कर लेऊ । विश्वकै महँगोमा कार बेच । तर कम्तिमा विश्वले पाइरहेको जति गुणस्तर त ग्यारेन्टी गर न यार ! माथिको तस्बीर दुर्घटना होइन, हत्या जस्तो हो ।

तिमी त जनमुखी सरकार हौ, जनताले बढ़ी पैसा तिरेर पनि कमसल सामान पाउनु र जिउधनको ठूलो असुरक्षा हुनुमा तिम्रो मन दुख्दैन ? तिमीलाई आत्मग्लानि हुँदैन ? के यो हत्या रोक्न सकिन्थ्यो भन्ने तिमीलाई लाग्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौं। सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

संवैधानिक इजलासलाई प्रभावकारी बनाइने

काठमाडौँ  ।  सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

काठमाडौ‌ं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ