सशस्त्र प्रहरीका ९ जना बाहिनीपतिको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार ९ सशस्त्र प्रहरी वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र प्रहरी बल नेपालले शुक्रबार सूचना जारी गरी जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय खटाइएको छ ।
यस्तै सशस्त्र प्रहरीको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, सप्रनाम चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नम्बर २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी पठाइएको छ ।
सशस्त्र प्रहरी नायब महाहनिरीक्षक कृष्णभक्त बज्राचार्यलाई छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग र नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका हरिशङ्कर बुढाथोकीलाई पनि कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
यस्तै सप्रनाम हरिश्चन्द्र अधिकारीलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीलाई नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँबाट नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा निमित्त बाहिनीपतिका रुपमा सरुवा गरिएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।