जति जति आधुनिक बिज्ञान र प्रविधिको ज्ञान हुदै गएको छ, त्यति त्यति बढी प्राचीन ज्ञानको महिमा बुझ्दै गएको छु
भीम उपाध्याय ।
जिवनको सुन्दर अनुभूति: जति जति आधुनिक बिज्ञान र प्रविधिको ज्ञान हुदै गएको छ, त्यति त्यति बढी प्राचीन ज्ञानको महिमा बुझ्दै गएको छु।
मलाई अत्याधुनिक बिज्ञान प्रविधिको विकासको निकै चासो रहने गर्छ। म Frontier Science & Engineering विषयमा नियमित अपडेट हुन प्रयास पनि गरिरहेको हुन्छ।
मलाई जति जति नविन बैज्ञानिक खोज वा प्राविधिक आविष्कारबारेमा ज्ञान हुदै गएको छ, त्यति त्यति हाम्रा प्राचीन शास्त्रहरूमा उल्लेखित खोज र आविष्कारको महत्व र रूचि बढ्दै गएको म आफूलाई पाउछु।
जति आधुनिक ज्ञान बुझ्न थाल्छु उति पुराना संस्कृत शास्त्रहरूको अध्ययनको मजा लिईरहेको हुन्छु । त्यति त्यति बढी हाम्रा पूर्खा ऋषि, मुनिप्रति अतुलनीय गर्व महसुस गर्ने गर्छु। यसबाट आफूमा पनि झन् बढी गर्वको अनुभूति बढ्दै गएको पाउछु।
जसले आफूप्रति गर्व गर्ने कुनै विगतको बिषय पाएको हुदैन उसको जिवन अर्थहिन, आशाहिन हुदै गएको हुन्छ। आफ्नै समाज वा पूर्खाको ऐतिहासिक गर्विला ज्ञान, बिज्ञान,भाषा साहित्यको विराशत महसुस गर्न नसिकाएको समाज र ब्यक्ति नर्कको यात्रामा रहेको अर्थहीन जिवनबाट गुज्रिरहेको महसुस गर्दै जान्छ। आफू र आफ्ना विगतलाई हेलाँगर्ने कुसंस्कारमा हुर्केर बाँचेकाहरू बाहिर बाहिर जति पण्डित्याइँ छॉटे पनि आफूलाई भित्रभित्रै मरेतुल्य महसुस गरिरहेका हुन्छन्। जराबिहीन रुख सानो हावाको झोकामै ढल्छ। बिगतका बिराशत जति पूरानो हुन्छ, त्यति वर्तमानका रूखहरू बलिया हुन्छन्। जराबिहीनहरू सेल्फ एलिएनेशनको शिकारमा फँसेका मात्र हुन्।
जतिजति आधुनिक ज्ञानको संगत गर्यो त्यतित्यति प्राचिन शास्त्रहरूको संगत गर्न पनि जरूरी हुँदो रहेछ। अहा! ज्ञानयोगीका निम्ति जिवनको मजा प्राचीन र आधुनिकबीचको पुल बन्नुमा आउदो रहेछ।