काठमाडौं। ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको दूतावासले जनाएको छ ।
त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले यस्ता गतिविधिले नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै ओमानमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने बताए।
सगरमाथा र गणतन्त्र दिवस एकै दिन परेकाले राजदूतावासमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । यसै अवसरमा दूतावासमा ई–सङ्ग्रहालय स्थापना गरिएको छ ।

प्रतिक्रिया