सगरमाथा दिवसमा बङ्गलादेशमा तस्बिर प्रदर्शनी



काठमाडौँ । सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो ।

बङ्गलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा शुक्रबार उद्घाटन गरे । प्रदर्शनी बङ्गलादेश शिल्पकला एकेडेमीमा जारी छ ।

प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि चौधरीले नेपाल बङ्गलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताए ।

जलवायु सङ्कटको अग्रपङ्क्तिमा हिमाल रहेका बताउँदै उहाँले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।

विशेष अतिथि परराष्ट्र सचिव मोमेनले नेपाल र बङ्गलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताए ।

उनले प्रगाढ पारस्परिक सम्बन्धको प्रशंसा पनि गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्व झल्काउने अवसर पनि भएको बताए ।

राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिँदै प्रदर्शनी नेपाली र बङ्गलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बङ्गलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको बताए ।

शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्बिर प्रदर्शनीआयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गरे ।

प्रदर्शनीका सहजकर्ता इनाम उल–हकले बङ्गलादेशमा पर्वतारोहण र साहसिक पर्यटनका उदीयमान प्रवृत्तिबारे जानकारी दिए । उनले प्रदर्शनीमा समावेश प्रत्येक तस्बिरले साहस, दृढ सङ्कल्प र लचिलोपनका बेग्लै कथा बताउने उल्लेख गरे ।

त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गरेका बङ्गलादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुमेका स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा बङ्गलादेश सरकारका कर्मचारी, ढाकास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विद्वत्वर्ग, पर्वतारोही, पदयात्री, फोटोग्राफर, सञ्चारकर्मीहरूका साथै बङ्गलादेशी समाजका सबै क्षेत्रका प्रतिष्थित व्यक्तिसहित तीनसय भन्दा बढी अतिथिको उपस्थिति थियो ।

बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बङ्गलादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका एक सय २० तस्बिर समावेश छन् । प्रदर्शनी भोलि आइतबारसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका अर्जुन थापा

  काठमाडौँ । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

काठमाडौँ । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने