प्रवासी नेपालीको नजरमा कोरोना संक्रमणमा सरकारको भूमिका



ऋषिकेश न्यौपाने ।
कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेको छ । तर नेपालमा भने विश्वका अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंसा , बलात्कार र अन्याय , अत्याचारको बिरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ । तर प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागी देशब्यापी आन्दोलन गर्दा कोरोना सर्दैन । राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन । रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतिनाथको मन्दिरमा पुजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने कृयाकलाप गर्दा कोरोना सर्छ तर सरकारलाई मनपर्ने कृयाकलाप गर्दा कोरोना सर्दैन ।

नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार र सत्तारुढ दल नै बढी जिम्मेवार रहेका छन् । पहिलो लकडाउनको अबस्थामा नेपालमा कोरोना संक्रमितको संख्या सीमित मात्रामा थियो, स्थिति सामान्य नै थियो । जब नेपाल सरकारले कर उठाउने उद्देश्यले असार मसान्तलाई लक्षित गरी लकडाउन खोल्यो संक्रमितको संख्या ह्वात्तै बढ्यो । असार मसान्तदेखि आजको दिनसम्म पनि कुनैपनि सरकारी कार्यलयहरुमा मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुरा गरिएको छैन र सामाजिक दुरीपनि कायम गरिएको देखिदैन ।

सार्वजनिक यातायात, बजार लगायतका अन्य स्थानहरुको पनि यस्तै अवस्था छ । कुनैपनि स्थानमा न कुनै सुरक्षाकर्मी खटाएर स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गराइएको छ न कुनै जनचेतना जगाउने भरपर्दो काम भएको छ। यही प्रवृत्तिले दिन दुईगुणा रात चौगुणाको दरले संक्रमण फैलियो ।

सत्तापक्ष , प्रतिपक्ष लगायतबाट केन्द्रदेखि स्थानीय तहसम्म आयोजना गरिएको राजनीतिक बैठक, भेला र पार्टी प्रवेश कार्यक्रमहरुले आगो झैं दन्किरहेको कोरोना संक्रमणमा घ्यू थप्ने काम गर्यो । प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागि प्रधानमन्त्री केपी ओली गुटका नेकपा कार्यकर्ताहरुले गरेको देशब्यापी आन्दोलनबाट पनि यसमा थप सहयोग पुग्यो । हुन त एमसीसी बिरुद्धको आन्दोलन, हत्या, हिंसा, बलात्कार बिरुद्धको आन्दोलन, अनियमितता र भ्रष्टाचार बिरुद्धको आन्दोलन र शोषण,दमन , अन्याय र अत्याचार बिरुद्धको आन्दोलनहरुका कारणले पनि कोरोना संक्रमण फैलिन मद्दत पुगेको छ । यि यावत् आन्दोलनहरु सत्तापक्षका अकर्मन्यता र गलत रबैयाका कारण बाध्यताबस् गरिएको हुँदा यसको जिम्मेवारी पनि सरकार पक्षले नै लिनुपर्छ ।

कुनैपनि बिषयमा जनताहरुलाई संबेदनशील, जिम्मेवार र लापर्बाह जे बनाउन पनि सरकार, मन्त्री वा प्रधानमन्त्रीको ठूलो भुमिका हुन्छ । सुरुका दिनहरुमा नेपाली जनताहरुलाई कोरोनाप्रति साबधानी अपनाउनका लागी नेपाल सरकारले राम्रो भुमिका खेल्यो र यसले गर्दा कोरोना संक्रमण नियन्त्रण पनि भएकै हो । तरपछि आएर कोरोनाको बारेमा जनतालाई असाबधान बनाउने र भ्रम फैलाउने काम पनि सरकारले नै गर्यो । जब प्रधानमन्त्रीबाट कोरोना केही होइन अदुवा, मरिच, बेसारपानी खाएर हाच्छिउँ गरेर कोरोना उड्छ भन्ने बक्तब्य सार्बजनिक भयो, प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेका कुरा पक्कै झुटो होईन भन्ने ठानेर कैयौं शिक्षाको उज्यालोबाट बन्चित नेपाली जनताले कोरोनालाई सामान्य रुपमा लिन थाले र साबधानी अपनाउन छाडे । यसबाट पनि केही हदसम्म संक्रमण फैलिन गयो । अदुवा , मरिच , बेसार लगायतका जडिबुटीहरु स्वास्थ्यका लागी फाईदाजनक हुन् तर कोरोनाको औषधि होईनन् भनेर अशिक्षाको अँध्यारोमा रहेका जनताहरुलाई बुझाउने हिम्मत सत्तापक्षका कोही कसैले गर्न सकेनन् बरु सबैजना यसको ठिक बिपरीत अन्धभक्त भएर प्रधानमन्त्रीको बक्तब्यलाई सत्य साबित गराउने दौडमा लागे ।

कोरोना एउटा भाइरस हो, यसले सत्तापक्ष प्रतिपक्ष , धनी गरीब , नेता जनता , संसद , मन्त्री , प्रधानमन्त्री , ब्यापारी , सुरक्षाकर्मी कसैलाई चिन्दैन र यसलाई लकडाउनले मात्र पनि रोक्न सक्दैन । सरकारले यही कुरा बुझ्न नसकी लकडाउनलाई मात्र कोरोना रोक्ने बिकल्प सोचेर अन्य कुराहरुमा साबधानी नअपनाउनाले गर्दा आज कोरोना भाईरस सर्बसाधारण जनताबाट सुरक्षाकर्मी, ब्यापारी , नेता , संसद , मन्त्री हुककंदै प्रधानमन्त्री निबास बालुवाटारको ढोकाबाट भित्र छिरिसकेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी पार्टीको बैठक , मन्त्रिपरिषद्को बैठक , भेटघाट लगायत सम्पुर्ण राजनीतिक कार्यक्रमहरु प्रधानमन्त्री निवासमा नै गर्ने प्रवृत्तिको परिणाम हो यो । यस्तै अवस्था रहिरहेमा प्रधानमन्त्रीको एक घर एक रोजगारीको योजना अब एक घर एक कोरोना संक्रमितमा परिवर्तन हुने पक्का छ ।
न्यौपाने प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय