कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता, महिलातर्फ डिला संग्रौला अगाडि


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनीपछि ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।

खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुनेछन् । त्यस्तै, समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्। यस समूहबाट एक जना उपसभापति निर्वाचित हुनेछन्।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता कायम गरेका छन्। उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्। खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुनेछन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत पाएका छन्। महिला महामन्त्रीमा एक जना निर्वाचित हुनेछन्।