आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खनाल चार दिने भ्रमणका लागि आज चीन जान लागेका हुन् । रास्वपाको सरकार गठनपछि पहिलो पटक परराष्ट्रमन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन् ।

जुन १४ देखि १७ सम्म बेइजिङमा रहँदा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ । भ्रमणमा मन्त्री खनालले नेपाल र चीन सम्बन्ध थप सुदृढ बनाउनुका साथै पारस्परिक सहयोग अघि बढाउने सम्बन्धी पारस्परिक हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनमा रहँदा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्।

चीन सरकारका उच्च पदस्थ अधिकारीहरुसँग पनि उनले भेट्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्री खनाल बेइजिङमा नेपाली दूतावासले आयोजना गर्ने वैदेशिक लगानी प्रवद्र्धनसम्बन्धी सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ । गतसाता मन्त्री खनाल भारत भ्रमणमा गएका थिए ।