उपसभामुख पदको उम्मेदवारीले राप्रपामा भाँडभैलो


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्सेर राणाले पार्टीको संस्थागत निर्णय बिना उपसभामुख पदमा उम्मेदवारी दिएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत राणाले आफूहरु गणतन्त्र विरोधी आन्दोलनमा रहेको र गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा पार्टी सहभागी हुन नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू र राष्ट्रवादी साथीहरूले मलाई फोन सम्पर्क गरिरहनुभएको छ म प्रस्ट पार्न चाहन्छु — हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन । पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन।’

राप्रपाले सरस्वती लामालाई उपसभामुख बनाएको थियो । श्रम संस्कृति पार्टीकी रूवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित हुँदा राप्रपाकी उम्मेदवार लामाले ५ मत मात्रै पाएकी थिइन्।