काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले दुई तिहाईको सरकारको शपथ लिएकै दिनदेखि दिनगन्ती सुरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि भएको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै सचिव बस्नेतले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुदन गुरुङ । तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ। के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?’
उनले आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहने बताए ।
उनले भनेका छन्, ‘हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ? तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुईतिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर । यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ । साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ।’

प्रतिक्रिया