निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा सोमबार सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

‘निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु,’ उपराष्ट्रपति यादवले भने । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको बताए ।

उपराष्ट्रपति यादवले मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य नागरिकको परिचय दिनसमेत आह्वान गरेका छन् ।

‘संविधानले दिएको बालिग मताधिकार प्रयोग गर्नु अधिकार मात्र होइन, देश र जनताको भविष्य निर्माण गर्ने कर्तव्य पनि हो,’ उनले भनेका छन्, ‘तपाईंको अमूल्य मतले देशमा शान्ति, सुशासन, स्थायित्व र समृद्धिको बाटो खोल्छ ।’