कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।
पोखरामा बुधबार राप्रपाको चुनावी कोणसभामा उनले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गरे ।
‘देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन् । राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस्’, अध्यक्ष लिङ्देनले भने ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामा समेत कुनै भिन्नता नभएको उनले जिकिर गरे ।
अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो । पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यी सबै दलको विकल्प भनेको राप्रपा हो ।’
लिङ्देनले देशको समस्या समाधानका लागि सबैपक्ष मिलाएर नवीन समझदारी आवश्यक रहेको बताए । उनले फागुन २१ गतेको निर्वाचनमा सोच विचार गरेरमात्र मतदान गर्न आग्रह गरे ।
राप्रपाले आजै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको छ । सो सभालाई पार्टीका अध्यक्ष लिङ्देनसहित क्षेत्र नं १ का उम्मेदवार बाबुराम थापा, क्षेत्र नं २ का उम्मेदवार हेमजङ गुरुङ र क्षेत्र नं ३ का उम्मेदवार अर्जुन खनालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया