काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गरी आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् ।
उनले भनिन्,‘निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ । जिल्लाबाट आएको विवरण अनुसार अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसक्नुभएको छ । आइतबारसम्म धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नुहुने छ भन्ने अपेक्षा छ ।’
त्यस्तै उनले हालसम्म ४१ वटा दलले घोषणा पत्र पेस गरेको जानकारी दिइन् । ‘हालसम्म घोषणा पत्र पेस गर्ने दल ४१ वटा रहेका छन् । उम्मेदवारको डाटा चाहिँ अहिलेसम्म आएको छैन’,उनले भनिन् ।
उनकाअनुसार निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । यस्तै खर्च व्यवस्थापनबारे दलहरूसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया