बदलिएको कांग्रेसले सुशासनयुक्त सरकारलाई जोड दिन्छ: प्रवक्ता चालिसे


ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बदलिएको कांग्रेसले स्वभाव, चरित्र र आचरण बदलेर सुशासनयुक्त सरकारलाई जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधि प्रक्रिया र जनताको म्यान्डेटलाई पनि ध्यान दिएर सकारात्मक सोचका साथ पार्टी अगाडि बढ्ने बताए ।

“कांग्रेसले संसदीय प्रजातन्त्रलाई नै स्वीकार गर्दै अगाडि बढेको छ, आज मधेस प्रदेशको जनकपुरको चुनावीसभामा भएको सहभागिताले कांग्रेसलाई मधेसले अपनत्व लिएको विश्वास छ”, प्रवक्ता चालिसेले भने ।

कांग्रेसले देशलाई समुन्नति र सम्मानको केन्द्र बनाउन खोजेको उल्लेख गर्दै उनले सोहीअनुसार भिजन ‘टेन’ को नारा दिएर दश बुँदामा तयार गरिएको प्रतिज्ञापत्र जनकपुरमा सार्वजनिक भएको बताए ।

कांग्रेसको भिजन टेनमा आधारित प्रतिबद्धता पत्रमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्नसक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने र देशलाई चिनाउने नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल भन्ने शीर्षकमा आमनागरिकको आवश्यकता, समुन्नति र समृद्धिको मार्गचित्रलाई समेटिएको छ ।