मधेसको अपनत्व लिँदै कांग्रेस


-नवीन झा
गएको दुुई दशक यता तीन चोटी आन्दोलन गरेर आफ्नो अधिकार र पहिचानका लागि संघर्षरत तराई मधेसको अपनत्व नेपाली कांग्रेसले लिन लागेको देखिन्छ । दशक लामो जनयुद्ध र दोस्रो जनआन्दोलन पश्चात् तत्कालीन विद्रोही माओवादी सहितको अन्तरिम संसद गठन गरेर अन्तरिम संविधान जारी गर्दा तराई मधेस त्यसको विरुद्धमा उभिएको थियो । अन्तरिम संविधानमा संघीयताको सम्बोधन नगरे भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थाका अध्यक्ष उपेन्द्र यादवको अगुवाईमा भएको आन्दोलन तराई–मधेसभर नैँ फैलिँदा मधेस आन्दोलनले उचाई लियो ।

जसका कारण मधेसमा छुट्टै क्षेत्रीय राजनीतिक दलहरूको उदय भयो र त्यतिबेलादेखि नै प्रमुख दलहरू तराई मधेसमा रक्षात्मक देखिन पुुगे । पछिल्लो समयमा अवस्था फेरिँदै गएको देखिन्छ । नेपाली कांग्रेसको विशेष महाधिवशनवाट पार्टी सभापतिमा निर्वाचित गगनकुमार थापा स्वयं आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न पुुगेका छन् । जसले कांग्रेसको मधेसमा कमब्याक गराउन सक्ने आँकलन धेरैले गर्न थालेका छन् ।

त्यसमा पछि सभापति थापा स्वयंले मधेस कांग्र्रेसको जन्मभूमि भएको भन्दै कांग्रेस मधेसको जेठो छोरो भएको दाबी गरेका छन् । जसले वर्तमान कांग्रेस नेतृत्व मधेसलाई फराकिलो तरिकाले समेटिन लागेको सन्देश राजनीतिक वृत्तमा देखिन थालेका छन् ।

थापाले मधेसले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउँदै आफू मधेसको राजनीतिकदेखि विकाससम्मको एजेन्डा सम्बोधन गर्न तयार रहेको बताएका छन् । थापाले मधेसले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न नसक्ने बताउँदै मधेस नबुुझेसम्म देश बुझ्न नसक्ने सम्मको अभिव्यक्ति दिएका छन् ।

‘आफूलाई मधेसमा आएर समाहित भएपछि यहाँको बारेमा थप जान्न पाउँछु भनेर सर्लाहीमा उम्मेदवार बनेर आएको हुँ’, थापाले भनेका छन्, ‘अब यहीँको प्रतिनिधि भएर यहाँको रहनसहनसँग घुुलमिल हुने छु ।’

हुनत थापाले केही समयअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गरेका थिए । उनले उक्त यात्राका क्रममा मधेसको राजनीतिकदेखि विकाससम्मको एजेन्डा बुुझ्न पाएको बताएका थिए । उक्त यात्रा पश्चात् थापाले तत्कालीन प्रतिनिधि सभामा समेत उक्त कुराहरू राखेका थिए ।

संविधान संशोधनको अगुवाई गर्ने दाबी

एक दशक अगाडि संविधान जारी हुँदा तराई मधेसमा छ महिना लामो आन्दोलन चलेको थियो । तत्कालीन संविधान सभाले अन्तरिम संविधानमा भएको अधिकारसमेत कटौती गरेर नयाँ संविधान जारी भएको भन्दै मधेस त्यसको विरुद्धमा उत्रिएको थियो । संविधान जारी गर्दा तत्कालीन प्रधानमन्त्रीसमेत कांग्र्रेसबाटै थियो । संविधान जारी भए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तत्कालीन मधेस आन्दोलनका मागहरू सम्बोधन गर्ने क्रममा पनि एमाले र कांग्रेस विभाजित देखिएका थिए ।

कांग्रेस तत्कालै संविधान संशोधन गरेर भए पनि मधेसलाई सम्बोधन गर्नुपर्ने पक्षमा थिए भने एमाले र तिनका दलबाट प्रधानमन्त्री भएको ओली त्यसप्रति अनुदार थिए । एमाले असहमतिबीच पनि तत्कालीन कांग्रेसका अगुवा नेता मिनेन्द्र रिजालले संसदमा दुुई बुँदे संशोधन प्रस्ताव लगेका थिए । तत्कालीन माओवादी र मधेस केन्द्रित दलहरूको सहयोगमा कांग्रेसको उक्त संशोधन प्रस्ताव पारित पनि भयो । जसले ६ महिना लामो मधेस आन्दोलनलाई विस्तारै अवतरण गर्न सहजकर्ताको भूमिकाको समेत निर्वाह गर्यो । यद्यपि मधेसमा रहेको रापतापलाई कांग्रेससहितका प्रमुख पार्टीहरूले राम्ररी छलफल र संवादको विषय बनाउन चाहेन ।

अहिले कांग्रेसका सभापति थापा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर सर्लाही गएपछि मधेसका ती मुद्धाहरूको बारेमा खुला ढंगले संवाद अगाडि बढाउन खोजेको देखिन्छ । थापा आफैँले सर्लाही र विराटनगरमा हालै भएको कार्यक्रममा संविधान संशोधनको पक्षमा आफू रहेको भन्दै संविधानमा रहेको त्रुटि सच्चाउनु पर्ने बताएका छन् । जसका लागि सबै पक्षबीच संवाद गरेर समस्याहरू सल्टाउन सक्ने दाबी गरेका छन् । उनले विकास द्रुत गतिमा अगाडि बढाउनमा समाजमा असन्तुुष्टि नहुनुपर्ने बताएका छन् ।

म मधेस बुझ्न आएको हुँः थापा

कांग्रेस सभापति थापाले आफू मधेस पढ्न र बुझ्न सर्लाही आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताएका हुन् । मधेसका साथीहरूले उत्साह देखेर आफूलाई उत्साहित बनाएको उनको भनाइ छ । ‘अब म यहाँको भाषा, रहनसहन, वेशभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरूले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारेका छन् ।

हचुवाको भरमा आफ्ना क्षेत्रका मतदातालाई आश्वासन नबढ्ने भन्दै उनले आफ्ना विज्ञसमूह क्षेत्रको वस्तुस्थिति बुझ्ने कार्यमा खटिएको बताएका छन् । उक्त टिमले दिएको रिपोर्टअनुसार यहाँका जनताको लागि प्रतिबद्धता जाहेर गर्ने उनको भनाइ थियो । आफूले हुलाकी राजमार्गको यात्रा गर्दैगर्दा मधेसमा प्रशस्त सम्भावना देखेको भन्दै, यति धेरै सम्भावना भएका ठाउँहरूका नागरिक बेरोजगारी समस्यामा किन विदेशिन बाध्य छन्, भनेर थाहा पाएको सभापति थापाको भनाइ छ ।

काठमाडौं–४ नम्बर क्षेत्रबाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरैपटक उठाएको भन्दै उनले यसपटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्न यहाँबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

अपनत्वको झझल्को
सभापति थापाले मधेसको समस्याका बारेमा जसरी आफूलाई प्रस्तुत गरिरहेका छन् त्यसले उनी मधेसको अपनत्व लिएर अगाडि बढ्न खाजेको प्रष्ट हुन्छ । जसलाई उनले आफ्नो राजनीतिक सम्बोधनहरूमा समेत प्रष्टाएका छन् ।

प्रमुख दलहरूको कुनै पनि नेताले अहिलेसम्म मधेसको बारेमा यसरी खुलेर बहस, संवाद तथा सार्वजनिक अभिव्यक्तिहरू सार्वजनिक गरेका थिएनन् । यसले आउँदो निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बनेका कांग्रेस सभापति थापा कतै मधेसलाई पार्टीको मूल प्रवाहीकरण गर्दै अपनत्व ग्रहण त गर्न लागेका छैनन् ? अवस्था त्यस्तै देखिन थालेको छ ।