हिजो गलत थियो बालेनको अभिव्यक्ति र अहिले ओलीको


नारायण गाउँले ।
हो महोत्तरी–धनुषा झापाजस्तो सफासुग्घर नहोला, एडभान्स नहोला, तर त्यहाँका नागरिकलाई सोझै ’त्यस्तो कल्चरबाट आएको’ भनेर यसरी अपमान गर्न मिल्छ र ? तेरो फोहर संस्कृति र हाम्रो सफा संस्कृति भन्न मिल्छ र ? कल्चर नै फोहर भएपछि त कहिल्यै सफा नहुने भयो । यो त अमर्यादित मात्रै होइन, गैरकानुनी अभिव्यक्ति भयो कि ? के भन्नुभएको यस्तो ? बालेनले जिते भने दमक फोहर बनाउँछन्, किनकि उनी त्यही कल्चरबाट आएका हुन् । यस्तो बोल्न मिल्छ ?

हो, बालेनले विगतमा तपाईंलाई लक्षित गरेर दिएका अभिव्यक्ति पनि यस्तै थिए । एउटा सरकार प्रमुखले अर्को सरकार प्रमुखलाई ’आतङ्ककारी’ लेख्नु, सन्तान नभएको विषयलाई कटाक्ष गर्नु एकदम गलत थियो । यसको आलोचना पनि भएको थियो । तर तपाईं त आजीवन राजनीति गरेर, खारिएर र सभ्यताको कुरा गर्दै आएको व्यक्ति हो । संविधान लेख्ने व्यक्ति पनि हो ।

यो चुनावी रेसमा बालेनले तुच्छ व्यक्तिगत टिप्पणी गरेजस्तो लाग्दैन । गर्दैनन् भन्ने ग्यारेन्टी छैन तर नगरे हुन्थ्यो भन्ने छ । तपाईंले त झन् संयम राख्न पर्ने ! यस्तो विभेदकारी अभिव्यक्ति किन ? अनि ती जिल्ला फोहर छन्, अव्यवस्थित छन् भने त्यसको जिम्मा त यत्रो वर्ष सरकार चलाउने तपाईंहरूकै होइन र ? धनुषा र महोत्तरी नेपालभित्रैका जिल्ला होइनन् र ? बालेनलाई यसमा जोड्न पर्ने के छ र ? वैचारिक बहस पो गर्नु ! खोइ तेरो एजेन्डा पो भन्नु । लुसिफर भन्नु पनि विम्बात्मक रूपले राजनैतिक टिप्पणी नै मानिन सक्छ । तत्कालीन सरकारप्रमुख भएकाले बालबालिकाको हत्याको आरोप पनि राजनैतिक नै हुन्छ । बालेनले सिंहदरबार जलाएको आरोप पनि राजनीति हो चल्छ । तर तँ फोहर कल्चरबाट आएर सफा जिल्लामा के गर्छस् भन्नु त हद भयो ! यो त सिङ्गो समुदाय र भूगोलको अपमान भयो ।

एमाले एउटा लोकतान्त्रिक पार्टी हो । उसको यस्तो धारणा पक्कै नहोला । उसको सङ्गठन धनुषामा पनि छ । नेता र कार्यकर्ता पनि छन् । तिनको मन पनि दुख्ला । निःशर्त माफी मागेर सच्याउन सकिन्छ कि ?